नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने
काठमाण्डौं, १० साउन – गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक आन्दोलनको पृष्ठभूमिमा आधारित नयाँ नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण हुने भएको छ। चलचित्र रुद्राक्ष फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिँदैछ भने निर्देशनको जिम्मेवारी उपेन्द्र तिमिल्सिनाले लिएका छन्।


शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरे। सो अवसरमा बोल्दै प्रचण्डले जनक्रान्ति चलचित्रले नयाँ पुस्तालाई गणतन्त्र स्थापनाको संघर्ष र त्यसपछि आएको सामाजिक, आर्थिक तथा राजनीतिक रूपान्तरणको बारेमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले युवाहरुलाई हिजोको समाजको अवस्थाबारे जान्न अत्यन्त जरुरी रहेको बताए।
चलचित्रका निर्माता रुद्र प्रसाद खनालका अनुसार भाद्र दोस्रो साताबाट छायांकन सुरु हुने छ भने प्रदर्शन मिति फागुन १ गतेका लागि तय गरिएको छ। निर्देशक तिमिल्सिनाले चलचित्र विभिन्न आन्दोलनका ऐतिहासिक घटनामा आधारित रहेर तयार पारिने र यसले नयाँ पुस्तालाई नेपालको राजनीतिक इतिहास बुझ्न सहज बनाउने बताए।
सत्य घटनामा आधारित जनक्रान्तिको छायांकन देशका विभिन्न ऐतिहासिक र आन्दोलनप्रभावित स्थलहरूमा गरिनेछ। प्रमुख छायांकन स्थलहरूमा रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया, धनकुटा, खोटाङ, भोजपुर तथा सर्लाही पर्छन्।
यो चलचित्रले नेपालमा गणतन्त्र स्थापनाको कथा मात्र नभई, संघर्ष, बलिदान र परिवर्तनको दस्तावेजका रूपमा पनि आफुलाई प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्