‘सिटामोल’को ट्रेलर सार्वजनिक, व्यङ्ग्यात्मक शैलीमा समाजको वास्तविकता चित्रण
काठमाडौं, साउन ७। जनैपूर्णिमाको अवसर पारेर साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक गरिएको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले समाजमा व्याप्त गरिबी, बेरोजगारी, सरकारी लापरवाही र पारिवारिक समस्यालाई हास्य र व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ।

ट्रेलरको आरम्भमा देखाइएका गाउँले परिवेश, पात्रहरूको व्यथा र जीवनका संघर्षहरूलाई हास्यरस र तिखो संवादमार्फत दर्शकसमक्ष प्रस्तुत गरिएको छ। प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमालको अभिनयले ट्रेलरलाई थप आकर्षक बनाएको छ। सौगातको सहज अभिनय शैली र बेनिशाको प्रस्तुतीले सामाजिक कथालाई मनोरञ्जनात्मक बनाएको देखिन्छ।
चलचित्रमा सामाजिक सन्देश बोकेको कथा प्रस्तुत गरिँदैछ, जसले दर्शकलाई हँसाउँदै सोच्न बाध्य बनाउने संकेत ट्रेलरमार्फत स्पष्ट भएको छ। निर्देशक राज बहादुर सानेले ग्रामीण समाजको यथार्थतामा आधारित हास्य शैलीमार्फत कथावस्तुलाई जिवन्त बनाएका छन्। सम्पादन, सिनेमाटोग्राफी र कलर ग्रेडिङले ग्रामीण जीवनशैलीको सौन्दर्य र समस्यालाई सशक्त ढंगले उतारेको छ।
‘सिटामोल’मा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
प्रदीप भण्डारी र निर्देशक सानेकै लेखन रहेको यो चलचित्र तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको हो। सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन्। कार्यकारी निर्माताहरूमा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी छन् भने सह-निर्माता गंगाराम श्रेष्ठ छन्।
चलचित्रमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन तथा दिव्य सुवेदीको छायांकन रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्