‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक, माग्ने राजा भदौ ६ देखि प्रदर्शनमा




आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘माग्ने राजा’को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीतमा सिनेमा प्रमुख कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बाल कलाकार रोनिश खड्का फिचर्ड छन्।
बाबुल गिरीको स्वरमा रहेको गीतको संगीत, शब्द र एरेञ्ज समेत उनले स्वयम् गरेका हुन्। बालगायकको रुपमा कलाकार रोनिश खड्काले गायनमा साथ दिएका छन्।
गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ। आकर्षक लोकेसन, सशक्त सम्पादन र मौलिक शब्द संयोजनले गीतलाई रमाइलो बनाएको छ। विशेषतः गीतको हुकलाइन ‘म त सुतेर उठेको पैसामा’ले सामाजिक सञ्जालमा सहजै टिकटक र फेसबुक रिल्समार्फत भाइरल हुने संकेत देखिएको छ।
ऋषि लामिछाने निर्देशित सिनेमा ‘माग्ने राजा’मार्फत उनले करिब ८ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। लामो समयपछि ‘इच्छा’पछि पुनः निर्माणमा फर्किएका मुनाल घिमिरे यस सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता हुन्। हाल उनी दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष पनि हुन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा केदार घिमिरे, वर्षा राउत, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, टिकटकर मोडल पवित्रा साकी (मिस पबी) लगायतको अभिनय रहेको छ।
सिनेमामा आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। छायांकन नरेन्द्र मैनाली, कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सेना, संगीत दीपक शर्मा र बाबुल गिरीले सम्हालेका छन्।
यस सिनेमाको वितरण आरआर फिल्म्सले गर्दैछ!

आफ्नो प्रतिक्रिया दिनुहोस्