‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक, नाजिर हुसेनको दमदार प्रस्तुति

काठमाडौं :अदृश्य संचार :-लैंगिक अल्पसंख्यकको कथामा आधारित नेपाली चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को नयाँ गीत सार्वजनिक गरिएको छ। “म फूल हुँ कि काँडा” बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो।

गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने गायनमा मनिषा पोखरेलको सशक्त स्वर सुन्न सकिन्छ। प्रेम, आत्मस्वीकृति र स्वाभिमानका भाव समेटिएको गीतमा—”माया गर्ने हो भने भोगेर जान, तर प्रमाण चाहिन्छ” भन्ने गहिरो सन्देश दिइएको छ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेनको प्रभावशाली नृत्य प्रस्तुत गरिएको छ। पारालैंगिक महिलाको भेषमा देखिएका उनले आफ्नो गेस्चर र पोस्चरमार्फत उत्कृष्ट अभिनय क्षमता प्रदर्शन गरेका छन्। भिडियोमा सुशील सिटौलाको पनि उपस्थिति रहेको छ।

निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। ‘गुन्यु चालो : द ड्रेस’ आगामी भदौ १३ गते देशभर रिलिज हुने भएको हो।

समुन्द्र भट्टको निर्देशनमा तयार भएको चलचित्रमा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी,संचारकर्मी निशा बजगाई लगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहनेछ।

नेपालको पहिलो पूर्णरूपमा ट्रान्स स्टोरीमा आधारित यस चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकास्थित बफेलो एट्लेले खरिद गरिसकेको छ। सम्पूर्ण पोस्ट-प्रोडक्सन काम विदेशमा सम्पन्न गरिएको चलचित्रमा एडिट, कलर ग्रेडिङ, साउन्ड मिक्सिङ तथा ब्याकग्राउन्ड म्युजिक समेत हलिउड शैलीमा तयार गरिएको बताइएको छ।

चलचित्रमा हलिउड गायिका लिजा जेरार्डको स्वर सुन्न सकिनेछ भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार पारेका छन्। लिजा जेरार्डले ‘ग्ल्याडिएटर–२’ जस्ता चर्चित हलिउड फिल्ममा समेत गायन गरेकी हुन्।

‘गुन्यु चालो : द ड्रेस’ नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसबीचको संयुक्त सहकार्यमा निर्माण गरिएको चलचित्र हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी रहेको छ। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माताको रूपमा संलग्न छन्। चलचित्रको छायांकन आलोक शुक्लाले गरेका हुन्।

उल्लेखनीय कुरा के छ भने, यो चलचित्र अमेरिकाको प्रतिष्ठित Tashveer Film Market मा छनोटमा परेको थियो, जसले अन्तर्राष्ट्रिय बजारमा समेत यसको उपस्थितिलाई संकेत गर्छ।

Share Post on Social media