फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा

काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ट्रेलर सार्वजनिक गर्दै फिल्मको एक्सन–सस्पेन्स कथावस्तुको झलक दर्शकमाझ प्रस्तुत गरेको हो।
सार्वजनिक ट्रेलरमा शक्तिशाली द्वन्द्व दृश्य, रहस्यमय कथानक र पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ देखाइएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा प्रस्तुत भएका छन् भने अभिनेत्री अञ्जना बराईली प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिन्छिन्। दुवैबीचको केमेस्ट्री पनि ट्रेलरमा उल्लेखनीय देखिएको छ।
ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूको उपस्थिति छ। निर्देशक विजय केरुङ ले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्दै कथाअनुसार नै ट्रेलर तयार गरिएको बताए। उनका अनुसार सत्ताका लागि नेताले जे–सुकै गर्न सक्छन् भन्ने यथार्थलाई पर्दामा उतारिएको छ, जहाँ एक्सनसँगै सामाजिक सन्देश पनि समेटिएको छ।
दिव्यासी फिल्म्स को ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ एक्सन–सस्पेन्स विधामा बनेको हो। फिल्मको कथा तथा निर्माण दीपक शिवाकोटी को रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका हुन्। सम्पादन बन्दे प्रसाद, कोरियोग्राफी रामजी लामिछाने, संगीत एसडी योगी र द्वन्द्व निर्देशन श्री श्रेष्ठ ले गरेका छन्।
यसअघि सार्वजनिक पोस्टर, टिजर तथा ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको यस चलचित्रको वितरण आरआर फिल्म्स ले गर्दैछ।

Share Post on Social media