प्रमोद अग्रहरिको बंगलादेशी एक्सन फिल्म ‘हाङ्गोर’को टिजर सार्वजनिक

काठमाडौं। नेपाली चलचित्र ‘उमा’बाट रजतपटमा पहिचान बनाएका अभिनेता प्रमोद अग्रहरि अब बंगलादेशी चलचित्रमार्फत अन्तर्राष्ट्रिय पर्दामा देखिने भएका छन्। उनको डेब्यू बंगलादेशी एक्सन फिल्म ‘हाङ्गोर’ को टिजर हालै सार्वजनिक गरिएको छ।
निर्माण टिमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको करिब एक मिनेट लामो टिजरमा अग्रहरिलाई शक्तिशाली र रहस्यमय एक्सन अवतारमा प्रस्तुत गरिएको छ। समुद्रको बीचमा गुण्डाहरूको समूहसँग जुधिरहेको दृश्यले फिल्मको कथावस्तु एक्सनप्रधान हुने संकेत गर्छ। टिजरमा उनको अनुहार प्रष्ट नदेखाइए पनि शारीरिक भाषा र एक्सन स्टाइलले शीर्ष भूमिकामै रहेको स्पष्ट हुन्छ।
बंगाली भाषामा ‘हाङ्गोर’ नाम दिइएको यस फिल्मको अंग्रेजी शीर्षक ‘Shark’ राखिएको छ। टिजरमा शार्क माछालाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ, जसले पात्रको स्वभाव र कथाको गहिराइ संकेत गर्छ।
बदला र संघर्षमा आधारित कथामा बनेको यो फिल्म Tanmay Surjo को निर्देशनमा तयार भएको हो। फिल्ममा प्रमोद अग्रहरिसँगै Tamanna Athoi र Arnab Khan लगायतका कलाकारको अभिनय रहेको छ। निर्माण पक्षले फिल्मलाई बंगालीसँगै हिन्दी र अंग्रेजी भाषामा पनि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।
अग्रहरिले नेपाली कलाकारले बंगलादेशजस्तो उदीयमान फिल्म उद्योगमा अवसर पाउनु गर्वको विषय भएको बताएका छन्। साथै, उनले फिल्मलाई नेपालमा पनि रिलिज गर्न पहल गर्ने जानकारी दिएका छन्।
नेपाली फिल्म क्षेत्रमा दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका अग्रहरि बहुआयामिक अभिनय क्षमताका लागि परिचित छन्। उनको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।

Share Post on Social media