‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सन सार्वजनिक
काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’को चर्चित गीत ‘लैजा खबर ए हावा’को नेवारी भर्सन सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार उक्त गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरेको हो।
नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर रहेको छ। युट्युबमा अपलोड भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ। यसअघि रवि ओडको स्वरमा आएको ओरिजिनल संस्करणले दर्शक–श्रोताबाट उल्लेख्य लोकप्रियता पाएको थियो।
नेवारी भाषामा यही गीत गाउने अवसर पाउँदा आफू निकै खुशी भएको यमन श्रेष्ठले बताए। बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतलाई नेवारी भाषामा मदन कृष्ण श्रेष्ठले अनुवाद गरेका हुन्।
चलचित्रका निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीसँगै नेवारी भाषामा पनि गीत रेकर्ड गरिएको जानकारी दिँदै श्रोता–दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए। उनले आगामी दिनमा नेपाली र नेवारी बाहेक अन्य भाषामा पनि गीत रेकर्ड गर्ने योजना रहेको उल्लेख गरे।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको ‘आ बाट आमा’मा विपना थापा र पल शाहसहित प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। हाल फिल्मको प्रचार–प्रसारमा अभिनेता पल शाह, विपना थापा सहित सम्पूर्ण निर्माण टिम सक्रिय देखिएको छ।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ। गीतको भिडियोमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीको छायांकन (DOP) रहेको फिल्मका संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्यमा लेखिएका हुन्।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्। मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्।
नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।









आफ्नो प्रतिक्रिया दिनुहोस्