बेनिशा हमाल भन्छिन् : ‘The Blue Light’ बाट मेरो नयाँ यात्रा सुरु भएको छ

काठमाडौं — अभिनेत्री बेनिशा हमाल ले सन् २०२५ को अन्त्यसँगै आफ्नो करिअरमा नयाँ अध्याय सुरु भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा फिल्म व्यवसाय र डिजिटल अधिकारतर्फ केन्द्रित नयाँ यात्रामा आफू अघि बढेको उल्लेख गरेकी छन्।
उनले आफ्नै कम्पनी Mauri Pictures मार्फत अब फिल्महरूको डिजिटल अधिकार लिने निर्णय गरेको जानकारी दिँदै यसलाई आफ्नो लागि नयाँ सुरुवातको रूपमा वर्णन गरेकी छन्। यस यात्राको पहिलो कदमस्वरूप उनी फिल्म ‘The Blue Light’ बाट एक्जिक्युटिभ प्रोड्युसरको रूपमा जोडिएको जनाएकी छन्।
बेनिशा हमालले नयाँ सुरुवात सधैं अलमल र अनिश्चितताले भरिएको हुने भए पनि त्यससँगै फरक उत्साह हुने उल्लेख गरेकी छन्। “यो यात्रा सजिलो हुनेछैन र रातारात सफलता पनि आउने छैन भन्ने मलाई थाहा छ। तर म आशावादी छु—यो यात्राले मलाई धेरै कुरा सिकाउनेछ र फिल्ममेकिङको यात्रामा अझ अगाडि बढ्न मद्दत गर्नेछ,” उनको भनाइ छ।
लामो समयदेखि फिल्म उद्योगमा सक्रिय रहँदै आएको अनुभव उल्लेख गर्दै उनले अब फिल्ममार्फत केही योगदान दिनु आफ्नो दायित्वजस्तै लागेको बताएकी छन्।
नयाँ यात्रासँगै नयाँ चुनौतीहरू आउने बताउँदै उनले यस घडीमा दर्शक, शुभेच्छुक र सहकर्मीहरूको माया, समर्थन र प्रोत्साहनको अपेक्षा गरेकी छन्।

Share Post on Social media