छुनुमुनुद्वारा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ रंगकर्मी हरिहर शर्मा सम्मानित

काठमाडौँ ।वाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ रंगकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ।
छुनुमुनुमा एक वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसरमा आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १ सय ११ रुपैयाँ, ताम्रपत्र, दोसल्ला र भादगाउँले टोपी लगाएर सम्मान गरिएको हो।
कार्यक्रममा छुनुमुनुका अध्यक्ष तथा युवा रंगकर्मी राजन भुजेलले नृत्य र नाट्य क्षेत्रका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा संस्था स्वयं गौरवान्वित भएको बताए। यस्तै संस्थाका वरिष्ठ सल्लाहकार तथा रंगकर्मी प्रभाकर न्यौपानेले थापा र शर्माको योगदान अतुलनीय रहेको उल्लेख गर्दै संस्थाले आफ्नो क्षमताअनुसार सम्मान गरेर उनीहरूको योगदानलाई स्मरण गर्न खोजेको बताए।
सम्मान ग्रहण गर्दै वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले नृत्य र अभिनयमार्फत कला–साहित्यको उन्नयनमा योगदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे। वरिष्ठ रंगकर्मी हरिहर शर्माले उन्नत समाजमा कलाको सम्मान अनिवार्य हुने उल्लेख गर्दै विद्यालय, घर र विश्वविद्यालय तहसम्म रंगकर्म, नृत्य तथा साहित्यको अध्ययन–अध्यापन आवश्यक रहेको बताए। नेपालमा पछिल्लो समय विद्यालय तहमा बालबालिकाको रंगकर्मप्रति आकर्षण बढ्दै गएकोमा उनले खुशी व्यक्त गरे।
कार्यक्रममा वरिष्ठ कलाकार प्रभाकरदेव शर्माले पछिल्लो समय सक्षम नाट्यकर्मीहरू जन्मिँदै गएको उल्लेख गर्दै त्यसमा विद्यालय र परिवारको सहयोग प्रशंसनीय रहेको बताए। अभिनय सिकाइको एक महत्वपूर्ण माध्यम भएको यथार्थ अब समाजले बुझ्दै गएको उनको भनाइ थियो।
यस्तै नाट्यकर्मी पुरु रिसाल, आशान्त शर्मा र केदार श्रेष्ठले बालबालिकामा नाट्य विधाप्रतिको आकर्षण सकारात्मक संकेत भएको भन्दै यसलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरूले बालबालिकाको व्यक्तित्व विकास र शैक्षिक उन्नतिमा अभिनयको महत्त्वबारे धारणा राखेका थिए। विद्यालय, अभिभावक र नाट्यकर्मीबीच सहकार्य हुन सके बालबालिकाको सिकाइ क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिने उनीहरूको भनाइ थियो।
दीक्षान्त समारोहमा छुनुमुनुको एक वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाले ‘जुठो’ शीर्षकको नाटक प्रस्तुत गरेका थिए। सो अवसरमा उनीहरूलाई दीक्षान्त प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

Share Post on Social media