‘आ बाट आमा’को भावुक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक
काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा’ को भावनात्मक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो।

गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायत कलाकारलाई देख्न सकिन्छ। परदेशिएका छोराको पीडा र आमाको निस्वार्थ मायालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शकको मन छुने प्रयास गरेको छ।
मार्मिक भाव बोकेको यस गीतमा शब्द र संगीत बाबुल गिरीको रहेको छ भने गायन रबी ओडले गरेका छन्। गीतको भावअनुसार भिडियो निर्माण गरिएको देखिन्छ, जहाँ सन्तानप्रतिको माया, ममता र स्नेहको कथा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
गीत रिलिज कार्यक्रममा निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताएका छन्।
उनले भने, “यो मेरो ड्रिम प्रोजेक्ट हो। सुटिङ अघि नै ‘आ बाट आमा’ मेरो सपना हो भन्थेँ। आज सोही फिल्मको शीर्ष गीत सार्वजनिक गर्न पाउँदा खुसी छु। दर्शकले यो गीत मन पराइदिनु हुनेछ भन्ने आशा छ।”
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको छायाङ्कन नवराज उप्रेतीले गरेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ भने गीतको कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।
अभिमन्यू निरवीद्वारा लेखिएको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्।
यसअघि सार्वजनिक गरिएको टिजर र पोस्टरले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाइसकेको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
चलचित्र ‘आ बाट आमा’ आगामी माघ १६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्