‘एक्लो’ को ट्रेलर सार्वजनिक, पुस १७ देखि विश्वभर प्रदर्शन हुँदै
काठमाडौँ। नेपाली साइन–फिक्सन फिचर फिल्म ‘एक्लो’ को ट्रेलर आज एक विशेष समारोहबीच लाविम मल्ल, ललितपुरमा सार्वजनिक गरिएको छ। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक प्रदीप शाहीसँगै प्रमुख कलाकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीलगायत उपस्थित थिए।
चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले आफ्नो व्यस्तता बीच पनि फिल्मको विषयवस्तु मन परेर परियोजनामा जोडिएको बताउँदै ‘एक्लो’ ले नेपाली फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
साइ-फाई जगतमा नेपाली कथानक
निर्देशक शाहीका अनुसार ‘एक्लो’ मा पूर्वीय आध्यात्मिकतालाई पश्चिमा जनराका तत्वसँग मिसाएर प्रस्तुत गरिएको छ। फिल्मको कथा सन् २०३० मा खतरनाक भाइरसका कारण मानवले पृथ्वी त्यागेको कल्पित भविष्यमा आधारित छ।
सोही घटनाबाट ६० वर्षपछि, बेलायती अन्तरिक्षयात्री ज्याक (जेमी बेकन) आफ्नो टिमसहित हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन्। वरपरको खोजीका क्रममा उनीहरू पहाडबीच रहेको गुप्त शहरसम्म पुग्छन्, जहाँ उनीहरूको भेट हिमालय क्षेत्रको पौराणिक संरक्षकका रूपमा चित्रित पात्र (प्रदीप खड्का) सँग हुन्छ।
निर्देशक शाहीका अनुसार कथाको दोस्रो अध्याय अर्को सिरिजमार्फत प्रस्तुत गरिनेछ।
अन्तर्राष्ट्रिय पहिचान र आगामी प्रिमियर
‘एक्लो’ले कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा विभिन्न कार्यक्रममार्फत सहभागिता जनाएको थियो। कान्स मार्केटमा फिल्मले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, निर्माताहरू तथा ओटीटी प्लेटफर्मसँग फिल्म प्रवर्द्धन गरेपछि यसको ग्लोबल सम्भावना थप बढेको छ।
फिल्मको ऐतिहासिक विश्व प्रिमियर आगामी डिसेम्बर २८ मा अमेरिकाको न्युयोर्कस्थित Museum of the Moving Image मा हुने पक्का भइसकेको छ।
हलिउडस्तरको भिजुअल र नेपाली लोकेसन
काभ्रेको पनौती र मुस्ताङमा छायांकन गरिएको फिल्मलाई हलिउडस्तरको भिजुअल, प्रविधि र कथासहित निर्माण गरिएको निर्देशक शाहीले बताए।
यसअघि ‘अन्तिम संस्कार’ र ‘गोर्खा: ब्रिनिथ द ब्रेभरी’ निर्देशन गरिसकेका शाहीको यो तेस्रो निर्देशन हो।
शक्तिशाली कलाकार र प्रविधिक टिम
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारको अभिनय छ।
साथै बेलायती अभिनेता जेमी बेकनले महत्वपूर्ण भूमिका निभाएका छन्।
फिल्म एनआरएन समूहको लगानीमा निर्माण गरिएको हो भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा, तथा प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्