‘पीआर’का नायक–नायिकालाई अष्ट्रेलियाबाट लिएर नेपाल फर्किए निर्देशक शोभित

काठमाडौं : मंसिर २६ गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र ‘पीआर’ को प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउन निर्माण टिमा तेजी ल्याएको छ। फिल्मका नायक–नायिका अष्ट्रेलियाबाटै लिएर निर्देशक शोभित बस्नेत नेपाल फर्किएका छन्।

एक साताअघि अष्ट्रेलिया पुगेका बस्नेतले अभिनेता आर.ए. सुरज पौडेल र अभिनेत्री विनिता कार्कीलाई साथमा लिएर आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। नेपाल फर्किएलगत्तै उनीहरू फिल्मको प्रमोसनमा सक्रिय हुने तयारीमा छन्।

निर्देशक बस्नेतले भने,
“फिल्मलाई दर्शकमाझ पुर्‍याउन कलाकारको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। त्यसैले नायक–नायिकालाई लिएर नै नेपाल फर्किएको हुँ। अब व्यापक प्रचारमा लागिन्छ।”

बस्नेत फिल्मको विदेश प्रदर्शन समय मिलाउने उद्देश्यले अष्ट्रेलिया तथा अन्य देशका चलचित्र वितरकसँग व्यस्त थिए।

फिल्मका नायक सुरज पौडेलले पनि नेपाल फर्किनुको कारण स्पष्ट पारे,
“फिल्मको कलाकार खोजी भइरहेको कुरा अष्ट्रेलियामै सुनेका थियौं। यही खोजीले हामीलाई नेपाल तान्यो।”

यो फिल्मकै डेब्यु नायिका विनिता कार्कीले अष्ट्रेलियामा भएको विशेष शोमा दर्शकको उत्साहजनक प्रतिक्रियाले आफूलाई निकै हौसले भरिएको बताइन्।
“नेपालका दर्शकसमक्ष पनि फिल्मले राम्रो प्रतिक्रिया पाउनेछ भन्नेमा पूर्ण विश्वास छ,” उनले भनिन्।

निर्माण टिमले सोमबारदेखि थप आक्रामक प्रमोसन सुरु गर्ने जनाएको छ। फिल्मको ‘टाटा बाई बाई’ गीत अहिले अत्यधिक चर्चामा छ, जसले चलचित्रको हाइप उल्लेख्य रूपमा बढाइरहेको छ।

चलचित्रमा नायक–नायिका बाहेक नीर शाह, गौरी मल्ल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, नवीन घायल लगायतका कलाकारको अभिनय छ। साथै विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिन्छन्।

फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्।
लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्।
वितरण आर.आर. फिल्म्सले गर्दैछ।

यसैबीच, निर्देशक शोभित बस्नेतको दश वर्षपछि आएको कमब्याक फिल्म भएका कारण ‘पीआर’प्रति उद्योग र दर्शक दुवैको चासो उच्च छ। विदेश प्रदर्शन अधिकार पनि धमाधम बिक्री भइरहेको निर्माण पक्षले जनाएको छ। केही साताअघि जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले ‘पीआर’को जापान प्रदर्शन अधिकार खरिद गरेको थियो।

Share Post on Social media