‘आ बाट आमा’को दुई पोस्टर सार्वजनिक, माघ १६ गते रिलिज हुने
काठमाडौं। आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘आ बाट आमा’ टिमले बुधबार दुईवटा पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक दुवै पोस्टरमा फिल्मको कथावस्तु र भावनात्मक सम्बन्ध झल्किने गरी डिजाइन गरिएको छ।

फिल्मको स्लोगन — “बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो” — ले आमाबाबु र सन्तानबीचको भावनात्मक दूरी र जिम्मेवारीको कथा संकेत गर्छ।
पहिलो पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त र साईग्रेस पोखरेल हर्षित मुद्रामा देखिन्छन् भने दोस्रो पोस्टरमा सबै पात्रहरू भावुक मुद्रामा छन्। प्रदीप र विपना एकअर्कालाई अँगालो हालेर रुँदै देखिन्छन् भने छोराको भूमिकामा रहेका पल शाह रगताम्य अवस्थामा देखिएका छन्।
ग्रामीण परिवेशमा आधारित यो चलचित्रले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ।
फिल्मको लेखन, पटकथा र निर्देशन चन्द्र पन्तले गरेका हुन् भने आर्या पन्तको प्रस्तुति रहेको छ।
चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतम लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन् भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको डिओपी नवराज उप्रेती हुन्।
संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्।
चलचित्रको विदेश प्रदर्शन अधिकार केही देशमा बिक्री भइसकेको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि. ले अस्ट्रेलिया र न्युजिल्याण्डको प्रदर्शन अधिकार लिइसकेको छ।
नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्