‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री, ‘सोल्ड आउट’

काठमाडौं ।
मंसिर २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटल ले सो अधिकार खरिद गरेको हो।

चलचित्रका निर्देशक शोभित बस्नेत का अनुसार जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको छ। उनले भने, “अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका फिल्म वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।”

बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथा हो, जसले विदेशमा रहेका नेपाली दर्शकमाझ विशेष सम्बन्ध र आत्मीयता जगाउनेछ। उनले थपे, “फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरुप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ।”

हालै सार्वजनिक भएको ‘टाटा बाइ बाइ’ गीतले सामाजिक सञ्जालमा उत्कृष्ट प्रतिक्रिया पाएको छ। गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेको छ भने टिकटकमा यसको शब्द र धुनमा बनेका छोटा भिडिओहरू अत्यधिक भाइरल भएका छन्।

चलचित्रमा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ।
विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिने छन्।

चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी, निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्।
गणेश बुढाथोकी को लेखन, बन्दे प्रसाद को सम्पादन, र सौरभ सायमी तथा सौरभ लामा को छायांकन रहेको छ।
फिल्मको वितरण अधिकार आर.आर. फिल्म्स ले लिएको हो।

निर्माण पक्षका अनुसार, जापानमा अधिकार बिक्रीसँगै अन्य देशमा रहेका नेपाली दर्शकमाझ पनि ‘पीआर’ को प्रतीक्षा र उत्सुकता थपिएको छ। यसअघि अष्ट्रेलियाका विभिन्न शहरहरूमा गरिएको विशेष शोमा हजारौं दर्शक उपस्थित भएका थिए।

Share Post on Social media