‘मन बिनाको धन’ सेन्सर पास, ‘युनिभर्सल सर्टिफिकेट’ सहित शुक्रबारदेखि प्रदर्शनमाकाठमाडौं, कार्तिक १८
आगामी कार्तिक २१ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ ले सेन्सर बोर्डबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ।

चलचित्र जाँच पास समितिका सदस्यहरूले फिल्मको विषयवस्तु र प्रस्तुति मनपराउँदै, यो फिल्म सबै उमेर समूहका दर्शकका लागि उपयुक्त रहेको निष्कर्ष निकालेका छन्। साथै, अशोक दर्जीको वास्तविक जीवन नजिकको कथामा आधारित यस चलचित्रले राम्रो सन्देश दिन सफल भएको भन्दै सेन्सर सदस्यहरूले खुलेर प्रशंसा गरेका थिए।
चलचित्रका निर्देशक टंक बुढाथोकीले ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफूहरूलाई ठूलो हौसला दिएको बताए। उनका अनुसार, “फिल्मको ट्रेलर युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ र दर्शकले पनि फिल्मलाई मन पराउनेमा हामी विश्वस्त छौं।” प्रचार सामग्रीमार्फत सिर्जना भएको हाइपका कारण चलचित्रले व्यापारिक रूपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको रहेको छ।
कलाकारहरू: अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
बाटोमा गीत गाउँदै माग्दै हिंड्ने अशोक दर्जीलाई टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीतमार्फत राष्ट्रिय चिनारी दिलाएका थिए। यही सम्बन्धबाट प्रभावित हुँदै बुढाथोकीले अशोकको परिवेशमा आधारित सामाजिक कथा ‘मन बिनाको धन’ निर्माण गरेका हुन्। हाल अशोक काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।
फिल्मको कथा टंक बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रकी निर्मात्री विष्णुमाया मैनाली, कार्यकारी निर्मात्री सपना शर्मा (सपना) हुन्। सहनिर्मातामा जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे रहेका छन्।
फिल्मका संगीत निर्देशक टंक बुढाथोकी, छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङ, तथा मुख्य सहायक निर्देशक नवराज शर्मा हुन्। चलचित्रका क्रिएटिभ निर्देशक टिकाराम बुढाथोकी हुन्।
फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन।

आफ्नो प्रतिक्रिया दिनुहोस्