‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत सार्वजनिक, नीर शाह र गौरी मल्लको छमछमी नृत्य
काठमाडौं।
आगामी मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पीआर’को नयाँ गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

गीतको भिडियोमा वरिष्ठ कलाकार नीर शाह र गौरी मल्लको छमछमी नृत्य देख्न सकिन्छ। त्यस्तै, दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार गीतको भिडियोलाई दर्शकले मन पराउनेमा उनीहरू ढुक्क छन्।
गीतमा भिम बी.सी.को संगीत, टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की रहेका छन्।
फिल्मका निर्देशक शोभित बस्नेतका अनुसार ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। उनका शब्दमा,
“विदेशमा रहेका छोराछोरी र नेपालमा रहेका बुबाआमाको सम्बन्ध तथा अपेक्षालाई फिल्ममा प्रस्तुत गरिएको छ। दर्शकले यसमा रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्,” उनले भने।
फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन्।
गणेश बुढाथोकीले फिल्मको लेखन गरेका हुन्, बन्दे प्रसादको सम्पादन, र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका हुन्।
फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस्