खुल्यो ‘नेपहपको श्रीपेच ३’को डिजिटल अडिसन, गरियो औपचारिक घोषणा
अघिल्ला दुई सिजन सफलता पूर्वक सम्पन्न भएपछि र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ तेस्रो संस्करणसहित फर्किएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा ‘नेपहपको श्रीपेच ३’ को औपचारिक घोषणा गर्दै डिजिटल अडिसन सुरु गरिएको छ। अडिसन कार्तिक २५ गतेसम्म खुला रहनेछ।


नेपाली टेलिभिजनमा र्याप विधामा स्थापित एक मात्र चर्चित नामको रूपमा रहेको ‘नेपहपको श्रीपेच’ को यस सिजनको टाइटल स्पोन्सर ‘रेड बुल’ रहनेछ भने के.आई.ई.सी. कन्सल्टेन्सी सह–स्पोन्सरका रूपमा रहनेछ।
सहभागी हुन इच्छुक प्रतियोगीहरूले आफ्नो प्रस्तुतिको भिडियो www.nepalirap.com मार्फत अपलोड गर्न सक्नेछन्। साथै ‘नेपहपको श्रीपेच’को अफिसियल फेसबुक पेज, WhatsApp नम्बर 9707259961 र nephopkoshreepech@gmail.com मा पनि भिडियो पठाउन सकिनेछ। प्राप्त अडिसनहरूबाट जज राउन्डमार्फत उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिनेछ।
डिजिटल अडिसनका लागि आवश्यक बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ। सहभागीहरूले कपिराइट–फ्री बिट प्रयोग गरी पनि भिडियो बनाउन सक्नेछन्।
यस सिजनको विजेताले रु. १० लाख नगद, वर्ल्ड टुरको अवसर, तथा विभिन्न ब्रान्ड इन्डोर्समेन्टहरू प्राप्त गर्नेछन्। उपविजेताले रु. ५ लाख नगद तथा विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन्।
‘नेपहपको श्रीपेच’को पहिलो सिजनका विजेता भाइबर साइमन, र दोस्रो सिजनका विजेता योङ्ग वेभ हुन्। दामी मिडियाको प्रस्तुति रहेको कार्यक्रमको कन्सेप्ट र डिजाइन सुदिप पोखरेलले गरेका हुन्।
अघिल्लो संस्करणमा निर्णायकका रूपमा मानस घले, गिरिश खतिवडा, र महेश तामाङ ‘दोङ’ रहेका थिए। यस सिजनका लागि भने हालसम्म मानस घले र गिरिश खतिवडा मात्र सार्वजनिक भएका छन्। तेस्रो निर्णायक चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ।
कार्यकारी निर्माता आदर्श विष्ट, र निर्देशक टिमको नेतृत्व विक्रम खनालले गर्नेछन्। कार्यक्रम मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण हुनेछ। ब्राडकास्टिङ र भोटिङ पार्टनर केही दिनमै सार्वजनिक गरिने बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्