अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित, लक्ष्मीपुजाको दिनबाट नयाँ यात्रा प्रारम्भ
काठमाडौँ । तिहारको लक्ष्मीपुजाको शुभ दिन अभिनेत्री पूजा शर्मा आगामी नेपाली फिल्म ‘महादशा’मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रूपमा अनुबन्ध गरेको हो।


सोमबार फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यस अवसरमा आफू फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्। उनका अनुसार ‘महादशा’ले फरक कथा र सशक्त भूमिकाको अवसर प्रदान गर्नेछ।
निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यस फिल्ममा यसअघि निरुता सिंह, उत्तम प्रधान, हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देबकोटा, पुस्कर भट्ट, दिनेश काफ्ले, रन्जन कोइराला, युबिक राज शाह, स्मृति कल्मर, र एलिज पुन लगायतको अभिनय रहनेछ।
फिल्ममा ‘दर्पणछाया’को चर्चित जोडी निरुता सिंह र उत्तम प्रधान पुनः एकसाथ देखिँदैछन्। उनीहरूका साथमा अब पूजा शर्माको दमदार अभिनय पनि दर्शकले हेर्न पाउने भएका छन्। पछिल्ला वर्षहरूमा निरन्तर हिट र लोकप्रिय फिल्महरू दिँदै आएकी पूजा अहिलेकी चर्चित र व्यस्त अभिनेत्री हुन्।
निर्देशक किरण नेपालीका अनुसार ‘महादशा’ले समाजका विविध पक्ष, जीवनका चुनौतीपूर्ण परिस्थितिहरू, र मानिसका आन्तरिक द्वन्द्वलाई कथा र भावनात्मक ढंगले प्रस्तुत गर्नेछ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस फिल्ममा मनिष गौतमको पटकथा रहेको छ। फिल्मका निर्मातामा राजेन्द्र शाह, श्याम मगर, र अमलादेवी राई रहेका छन् भने सुरज आचार्य कार्यकारी निर्माता हुन्।
फिल्मको छायांकन मंसिरको दोस्रो साताबाट सुरु हुने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्