‘पीआर’ मंसिर २६ गतेदेखि प्रदर्शनमा, विदेशिएका युवाको कथा बोल्ने फिल्म
काठमाडौं । शोभित बस्नेतको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र ‘पीआर’ आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले काग तिहारको अवसरमा फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा र नवीन घायलको प्रमुख भूमिका रहेको छ।
फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग सम्बन्धित भावनात्मक कथामा निर्माण गरिएको छ। प्रस्तुतकर्ताका रूपमा रञ्जित साह र सन्तोष तिवारी रहेका छन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता हुन्।
निर्माण पक्षका अनुसार ‘पीआर’ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मूल विषय बनाएको छ।
फिल्मको लेखन गणेश बुढाथोकीले, सम्पादन बन्दे प्रसादले, र नृत्य निर्देशन राम्जी लामिछानेले गरेका छन्। संगीतमा मानस राज र भिम बीसी रहेका छन् भने छायांकन सौरव मानन्धर र सौरव लामाले गरेका हुन्।
फिल्मका निर्देशक शोभित बस्नेतले ‘पीआर’मा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउने विश्वास व्यक्त गरेका छन्। उनले भने,
“‘पीआर’ नेपालकै कथा हो— नेपाली युवाको सपना र संघर्षको कथा। हामीले दर्शकलाई फरक स्वाद दिन खोजेका छौं।”
चलचित्रको वितरण जिम्मा आर.आर. फिल्म्सले लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्