निखिल उप्रेती र वर्षा शिवाकोटी एकसाथ ‘कस्तुरी’मा

काठमाडौं।
नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार आयोजित एक विशेष समारोहमार्फत निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो।
कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवाल अब मनोरञ्जन क्षेत्रमा पनि पाइला चाल्दैछन्। उनी टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरबाट फिल्म ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन्।
फिल्मको कथा र निर्देशन ऋत बोहोराले गर्नेछन्। सस्पेन्स–थ्रिलर विधामा निर्माण हुने यो चलचित्रले रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गर्ने निर्देशक बोहोराको भनाइ छ। उनका अनुसार फिल्ममा मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्र जस्ता विषय समेटिनेछन्।
‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलोपटक पर्दा सेयर गर्ने भएका छन्। उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय गर्नेछन्। अन्य कलाकार र प्राविधिक टोलीको छनोट कार्य जारी रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको कथा ब्रजेश खनालले लेखेका हुन्।
निर्माता धिरज कुमार अग्रवाल, सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्।
छायांकन आलोक शुक्ला, प्रमुख सह–निर्देशन ललित बिष्ट, संगीत प्रशान्त शिवाकोटी, र गीत लेखन युवराज काफ्लेले गर्नेछन्।
फिल्मको प्रचार–प्रसार डिजाइन ट्राइडेन्टले गर्नेछ भने निर्माण व्यवस्थापक दिलीप पन्त रहनेछन्।
निर्माण पक्षका अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रहरूमा सुरु हुनेछ। साथै, फिल्मको डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन पनि छिट्टै टुंगो लगाइने तयारी भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्