पूर्व मिस नेपाल उषा खड्गी चलचित्र यात्रामा सक्रिय, ‘जेरी अन टप’ मा दमदार आमाको भूमिकामा
पूर्व मिस नेपाल २००० उषा खड्गी हाल नेपाली चलचित्र क्षेत्रमा अभिनयको नयाँ यात्रामा सक्रिय बन्दैछिन्। म्युजिक भिडियोमा कहिलेकाहीँ देखिँदै आएकी उनी अब ठूला पर्दामा निरन्तर उपस्थित हुन थालेकी छिन्।

उनले आफ्नो अभिनय यात्रा महानायक राजेश हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ बाट सुरु गरेकी हुन्, जहाँ उनले कलाकार सरोज खनालकी श्रीमती र नायिका सनिशा भट्टराईकी आमाको भूमिका निर्वाह गरेकी थिइन्।

त्यसपछि सार्वजनिक भएको फिल्म ‘माग्ने राजा’ मा उनले व्यङ्ग्यात्मक राजनीतिक भाउजुको भूमिकामा छोटो तर प्रभावशाली अभिनय प्रस्तुत गरेकी थिइन्।
हालै प्रदर्शनमा आएको र ब्लकबस्टरको यात्रामा अघि बढिरहेको चलचित्र ‘जेरी अन टप’ मा उनले सुपरस्टार भुवन के.सी.की श्रीमती र अनमोल के.सी.की आमाको भूमिका निभाएकी छिन्। दर्शकहरूले उनको अभिनयको प्रशंसा गर्दै “जेरीको मामु कति राम्रो!” भन्ने प्रतिक्रिया दिएका छन्, जसले उनलाई अत्यन्त उत्साहित बनाएको उनले बताएकी छिन्।
उनी भन्छिन् — “राम्रो स्क्रिप्ट आइरहेका छन्, अहिले केही अध्ययन गर्दैछु। यदि छोटो भए पनि इम्प्याक्ट पार्ने भूमिका भयो भने म अवश्य खेल्छु।”
उषा खड्गीले हालै २–४ वटा नयाँ चलचित्रका प्रस्तावहरू प्राप्त गरेकी छन् र उनी स्क्रिप्ट अध्ययनको चरणमा रहेकी छिन्। उनका अनुसार, अबको लक्ष्य “गहिरो अभिनय र सशक्त चरित्र” प्रस्तुत गर्ने हो।
अदृश्य संचारको तर्फबाट अभिनेत्री उषा खड्गीलाई सफल अभिनय यात्राका लागि हार्दिक शुभकामना।

आफ्नो प्रतिक्रिया दिनुहोस्