‘मैझारो’को ट्रेलर सार्वजनिक, प्रेम र संघर्षको कथामा धिरज–मिरुनाको जोडी

काठमाडौं । विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार तीन मिनेट ४९ सेकेण्डको ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा प्रेमका लागि गरिएको संघर्ष र त्यसपछि उत्पन्न भएका समस्याहरूलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, र दयाहाङ राई प्रमुख भूमिकामा देखिएका छन्। निर्देशक विल्सन आफैं पनि अभिनयमा छन्।

यसअघि निर्माण टिमले दुईवटा गीत सार्वजनिक गरिसकेको छ — एउटा रोमान्टिक लभ सङ र अर्को पूर्वमा प्रचलित नाच ‘साकेला’मा आधारित गीत। दुवै गीतले सोशल मिडियामा उल्लेखनीय हाइप पाएको छ।

पूर्वको इलाम–पाँचथर आसपासमा खिचिएको यो फिल्म विल्सन राईकै कथा हो। तक्मे प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा धिरज र मिरुनासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय समावेश छ।

फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ भने राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको आवाज रहेको छ। छायांकन सौरभ लामाले गरेका छन्।

आरआर फिल्म्सले फिल्मको वितरण जिम्मा लिएको छ भने ओएसआर डिजिटलले डिजिटल अधिकार लिएको छ।
फिल्म आगामी तिहारको भाइटीका अर्थात् कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

Share Post on Social media