‘माइतीघर’पछि निर्देशक मिलन तामाङको नयाँ फिल्म ‘कहाँ भेटिएला’ घोषणा

काठमाडौँ — सफल फिल्म ‘माइतीघर’ का निर्देशक मिलन तामाङले आफ्नो नयाँ चलचित्र ‘कहाँ भेटिएला’ को औपचारिक घोषणा गरेका छन्। निर्माण टिमका अनुसार, फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना रहेको छ।

यसअघि ‘माइतीघर’ मार्फत डेब्यु निर्देशन यात्रा सुरु गरेका तामाङ अहिले देशभरका दर्शकमाझ चर्चित नाम बनेका छन्। सोही फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्दै २०८२ सालको नम्बर १ डेब्यु निर्देशक को उपाधि समेत उनलाई दिलाएको छ।

निर्देशक तामाङले भने, “अहिले हामीले फिल्मको टाइटल मात्र सार्वजनिक गरेका हौं। केही दिनमा फिल्मका कलाकार र प्राविधिक टिमबारे सम्पूर्ण जानकारी सार्वजनिक गर्नेछौं।” उनका अनुसार, फिल्मका गीत दृश्यहरू माघ महिनामा छायांकन गरिने छन् भने प्रदर्शन मिति भने हाललाई तय गरिएको छैन।

दशैंको फुलपातिमा प्रदर्शनमा आएका ‘हरि बहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ मध्ये दर्शकले निर्देशनका हिसाबले ‘माइतीघर’ लाई उत्कृष्ट मानेका थिए। सो फिल्मले नेपाली फिल्म निर्देशनमा नयाँ स्तर स्थापित गरेको भन्दै तामाङको प्रशंसा भइरहेको छ।

फिल्म विश्लेषकहरूका अनुसार, हाल ‘माइतीघर’ र निर्देशक मिलन तामाङ दुवै देशभरका चोक–चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेका छन्।

आफ्नो नयाँ परियोजनाबारे उत्साहित देखिएका निर्देशक तामाङ भन्छन् —

“‘माइतीघर’ बाट पाएको माया र भरोसालाई अझ सुदृढ बनाउँदै, ‘कहाँ भेटिएला’ लाई नेक्स्ट लेभलमा लिएर जानेछु। दर्शकले यसमा नयाँ अनुभूति पाउनेछन्।”

‘माइतीघर’ अहिले पनि देशभर प्रदर्शनरत छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। अब दर्शकहरूलाई मिलन तामाङको अर्को सिर्जना ‘कहाँ भेटिएला’ को प्रतीक्षा छ।

Share Post on Social media