‘मुगलान’को फस्ट लुक सार्वजनिक, पुस १० गतेबाट प्रदर्शनमा

काठमाडौं :-रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५) देखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। पोस्टरमा प्रभात बासुरी बजाउन लागेको दृश्यमा देखिन्छन् भने स्मारिका लजालुपनमा प्रस्तुत भएकी छन्, जसले उनीहरूबीचको प्रेमकथाको संकेत गर्दछ। पोस्टरले नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमिमा आधारित कथाको झल्को दिएको छ।

फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब. पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको लेखन र निर्देशन आशिष ढकालले गरेका हुन् भने गोमन सिंह निर्माता र रिता चौधरी सह–निर्मात्री रहेकी छन्। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन जय बिष्ट र राम गुरु, कोरियोग्राफी देवेन्द्र कुँवर, र छायांकन (DOP) अजय रेग्मीले सम्हालेका छन्।

संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) रहेका छन्। गीतका शब्दहरू आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी)ले लेखेका हुन्।

निर्माण टिमका अनुसार, ‘मुगलान’ ले युवाहरूको परदेश जाने सपना, गाउँघरको प्रेम र जीवनका संघर्षहरूलाई सशक्त रूपमा चित्रण गर्नेछ। अहिले फिल्मको प्रचार–प्रसार तीव्र गतिमा अघि बढाइएको छ। फिल्मको वितरण जिम्मा आर आर फिल्म्सले लिएको छ!

Share Post on Social media