‘परान’को पोएटिक टिजर सार्वजनिक : बाबुको छोराप्रतिको अमर विश्वास

– निर शाहको जन्मदिन पारेर टिजर रिलिज

काठमाडौं । आगामी कार्तिक १४ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘परान’ले आफ्नो पोएटिक टिजर सार्वजनिक गरेको छ।
वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यस टिजरमा कवि नवराज पराजुलीका शब्द र आवाजमार्फत फिल्मको भावनात्मक गहिराइ प्रस्तुत गरिएको छ।

कविता मार्फत जीवनको उत्तरार्धमा पुगेका एक बाबुले आफ्ना छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने मर्म व्यक्त गरेका छन्। पराजुलीका मन छुने पंक्तिहरू यसरी गुञ्जिएका छन् —

“जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन,
यो मेरो छोरो परान हो, मेरो मलाई छोड्दैन।”

“ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए,
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन।”

यी कवितात्मक पंक्तिहरूमा ‘परान’ शब्द स्वयं बाबु–छोराको सम्बन्धको प्रतीक बनेको छ।

टिजरमा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइलीलगायतका कलाकार देख्न सकिन्छ।
टिजरले फिल्मले बाबु–छोराबीचको सम्बन्ध, सामाजिक दबाब र जीवनका उकाली–ओराली उजागर गर्ने संकेत दिएको छ।

‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो फिल्म उनको डेब्यु निर्देशन हो।
फिल्ममा रिदम कंडेलको संगीत, शिवराम श्रेष्ठको छायांकन (DOP) र मित्र डि. गुरुङको सम्पादन रहेको छ।
गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर सुन्न सकिन्छ।

‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो, जसमा गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको छ।
देशकै प्रतिष्ठित व्यापारिक समूहको निर्माणमा बनेकाले पनि यो फिल्मलाई दर्शकले विशेष उत्साहका साथ पर्खिरहेका छन्।

Share Post on Social media