‘मैझारो’ प्रचारमा ताते विल्सन विक्रम राई, अटोदेखि इ–रिक्सासम्म ‘मैझारो’मय वातावरण
काठमाडौं ।कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ को प्रचार–प्रसार देशभर तात्न थालेको छ। फिल्मका निर्देशक तथा निर्माता विल्सन विक्रम राई (तक्मे बुढा) स्वयम् देशका विभिन्न शहरमा पुगेर सांगीतिक प्रस्तुति दिँदै आफ्नो फिल्मलाई दर्शकमा पुर्याउन व्यस्त छन्।

पूर्वका सहरहरूमा अहिले ‘मैझारो’को माहोल व्यापक देखिन्छ। धरान, इटहरी, बेलबारी, दमक र बिर्तामोडलगायत क्षेत्रका इ–रिक्सा र अटोहरू फिल्मका पोस्टरले भरिएका छन्। सडकदेखि बजारसम्म ‘मैझारो’मय वातावरण सिर्जना भएको छ।
निर्देशक राईले आफ्नो टिमसहित सांगीतिक धमाका गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने अभियान थालेका हुन्। उनीसँगै ‘राई इज किङ’ गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङ, र फिल्मका मुख्य कलाकारहरूले बेजोड प्रस्तुति दिइरहेका छन्।
बिहीबार धरानमा भएको कन्सर्टमा हजारौँ दर्शकको उपस्थितिले ‘मैझारो’ टीमको उत्साह बढाएको थियो। आज (असोज २५) भने निर्देशक राईको गृह जिल्ला झापाको बिर्तामोडस्थित मुक्तीचोकमा विशेष सांगीतिक कार्यक्रम हुँदैछ।
“हामी प्रचारमा कुनै कमी गर्न चाहँदैनौं,” निर्देशक राईले भने, “सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनका साथ फिल्म हलमा दर्शकलाई ल्याउने हाम्रो प्रयास हो। यो नयाँ र प्रभावकारी तरिका पनि हो।”
यसअघि फिल्मका पोस्टर, टिजर र दुईवटा गीतले दर्शकको मन जितिसकेका छन्। तर निर्देशक राई अझ बढी प्रभाव पार्न चाहँदै देशभर ‘मैझारो’को रौनक फैलाइरहेका छन्।
उनकै लेखन र लगानीमा बनेको यो डेब्यु निर्देशन मौलिक प्रेमकथामा आधारित छ। फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, कविता आले, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ भने स्वरमा राजेश पायल राई, मेलिना राई, झुमा लिम्बू र अस्मिता अधिकारी छन्।
सौरभ लामाले खिचेको यो फिल्मलाई आरआर फिल्म्स ले वितरण गर्दैछ भने ओएसआर डिजिटल ले यसको डिजिटल अधिकार लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्