तिहारमा सार्वजनिक हुँदै छोटो चलचित्र ‘ऐना (Mirror)’

काठमाडौं :-निर्देशक कृशा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो चलचित्र ‘ऐना (Mirror)’ यस वर्षको तिहारमा सार्वजनिक हुने भएको छ। निर्माण पक्षले यस चलचित्रलाई युएनए डिजिटल युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा रिलिज गर्न लागेको हो।

केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो छोटो चलचित्रको मुख्य भाव “जीवनको प्रतिबिम्ब” रहेको निर्देशक चौलागाईंले बताएकी छन्। उनी भन्छिन्, “‘ऐना’ केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो। प्रत्येक अनुहार र क्षणमा एउटा कथा लुकेको हुन्छ — यही नै यस चलचित्रको सार हो।”

चलचित्र ‘ऐना (Mirror)’ ले तिहारको उज्यालो, आत्मचिन्तन र माया–संबन्धको गहिरो भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको बताइएको छ। चलचित्रले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने प्रयास गरेको छ।

यस छोटो चलचित्रमा भोलाराज सापकोटा र सरिता गिरीको सशक्त अभिनय रहेको छ। उनीहरूको संवेदनशील र यथार्थपरक प्रस्तुतीले दर्शकको मन छुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन्।
केपी फिल्म्सको प्रस्तुतिमा तयार गरिएको यो चलचित्र युएनए डिजिटलमार्फत तिहारको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ।

निर्देशक कृशा चौलागाईं यसअघि ‘पिताम्बर’, ‘ऐन्चो पैंचो’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेकी छिन्। उनी फिल्म निर्देशनमा आउनु अघि निर्माताका रूपमा परिचित थिइन्।

Share Post on Social media