२५ दिनमै सकियो ‘आ बाट आमा’को छायांकन, पल शाहसँग अर्को फिल्मका लागि अनुबन्ध
काठमाडौं – निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ को छायांकन २५ दिनमै पूरा भएको छ। तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्त गरी चितवनबाट सुरु गरिएको छायांकन एक महिनाको सेड्युल तोकिए पनि कलाकार तथा प्राविधिकको मेहनतले निर्धारित समयभन्दा पाँच दिनअघि नै सकिएको हो।




फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ। आमा र सन्तानबीचको माया, ममता र स्नेहको कथा यसले बोल्ने निर्देशक पन्तले बताएका छन्।
छायांकन सकिएलगत्तै निर्देशक पन्तले अभिनेता पल शाहलाई अर्को अनटाइटल्ड (नाम खुलाइएको छैन) फिल्मका लागि अनुबन्ध गरेका छन्। उनले केही दिनमै नयाँ फिल्मको नाम र अन्य कलाकारबारे जानकारी दिने जनाएका छन्।
फिल्मबारे आशावादी रहेका अभिनेता पल शाह भन्छन् :
“म आशावादी छु तपाईं भगवान रूपी दर्शकहरूले ‘आ बाट आमा’लाई पनि सधैंझैँ माया र समर्थन गर्नुहुनेछ र भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिनुहुनेछ।”
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको डिओपी नवराज उप्रेती हुन् भने संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्।
फिल्मको विदेश प्रदर्शन अधिकार पहिले नै बिक्री भइसकेको छ। अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रा.लि. ले खरिद गरेको हो। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्स ले लिनेछ भने डिजिटल अधिकार ओएसआर डिजिटल को हुने भएको छ।
–

आफ्नो प्रतिक्रिया दिनुहोस्