‘माइतीघर’ फिल्मले पायो ‘यूनिभर्सल’ सर्टिफिकेट, दशैंमा पारिवारिक मनोरञ्जन

काठमाडौं – असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माइतीघर’ ले चलचित्र जाँच पास समितिबाट ‘यूनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। बुधबार बेलुकी सम्पन्न सेन्सर प्रक्रियापछि सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी फिल्म स्वीकृत भएको हो।

फिल्मलाई दशैंको फूलपातिको अवसरमा रिलिज गर्न लागिएको छ, जसले व्यापारिक रुपमा उत्साहजनक ओपनिङ गर्ने अपेक्षा राखिएको छ। सेन्सरमा फिल्म हेरेका सदस्यहरूले यसलाई पारिवारिक, मनोरञ्जनात्मक र भावनात्मक प्रस्तुति भएको भन्दै प्रशंसा गरेका छन्।

निर्माता रोहित अधिकारीले दर्शक यसपटक निराश नहुने दाबी गरेका छन्। उनका अनुसार, ट्रेलर र गीतले नै दर्शकको ध्यान तानेको छ भने, रिलिजअघि नै सयभन्दा बढी हलमा शो सुनिश्चित भइसकेको छ। बिहानदेखि बेलुकासम्मको समयावधि व्यापकरुपमा शो पाएको भन्दै दर्शकमाझ उत्सुकता बढेको देखिन्छ।

रामशरण पाठकले लेखेको कथामा बनेको फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ र शिशिर वाङ्देललगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा र प्रस्तुति दर्शकले रुचाउने र ‘वर्ड अफ माउथ’ बलियो हुने अपेक्षा निर्माणपक्षले व्यक्त गरेको छ।

Share Post on Social media