सुशीलको एक्सन अवतारमा ‘परिवर्तन’को पोस्टर सार्वजनिक, माघ ९ बाट प्रदर्शन

काठमाडौं – दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरसँगै फिल्म आउँदो माघ ९ (जनवरी २३) देखि प्रदर्शन हुने घोषणा गरिएको छ।

पोस्टरमा मुख्य अभिनेता सुशील श्रेष्ठलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ। उनले हातमा बोकेको तरबारमा देखिएको आगोको झल्कोले फिल्ममा सस्पेन्स, लडाइँ र प्रतिशोधको कथा समेटिएको संकेत गर्छ। पोस्टरमा देखिने पृष्ठभूमिबाट देशको सीमा र नेतृत्वसँग जोडिएको संघर्षलाई पनि संकेत गरिएको छ।

चलचित्रलाई विजय केरुङले निर्देशन गरेका छन् भने कथा र निर्माण दीपक सिवाकोटीको हो। फिल्ममा सुशील श्रेष्ठसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको एक्शन निर्देशन श्री श्रेष्ठले गरेका छन् भने छायांकन शिव ढकाल, सम्पादन बन्दे प्रसाद, सह–सम्पादन उमेश थापा, र कलरिस्ट राजेन्द्र मोक्तान रहेका छन्। ब्याकग्राउण्ड संगीत बलिउडका कालाचरणले तयार गरेका हुन्। फिल्मको संवाद शिवम् अधिकारीले लेखेका हुन्।

निर्माण टिमका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ। चलचित्रलाई आर.आर. फिल्म्सले वितरण गर्नेछ भने डिजिटल साझेदारको जिम्मेवारी ओएसआर डिजिटलले लिएको छ।

Share Post on Social media