एमाले सरकारको अत्याचारमा मौन बसेको काँग्रेस पनि दोषी : नेविसंघ नेता रोशन श्रेष्ठ

काठमाडौं । नेविसंघ केन्द्रीय सदस्य रोशन श्रेष्ठले हालैको आन्दोलनमा भएको जनहत्या र दमनप्रति तीव्र आक्रोश प्रकट गरेका छन्। उनले एमाले नेतृत्वको सरकारमाथि मात्र नभई सत्ता साझेदार कांग्रेसमाथि पनि कठोर प्रहार गर्दै मौनता र सत्ता मोहकै कारण निर्दोष युवाले ज्यान गुमाउनुपरेको बताएका छन्।
श्रेष्ठले भने, “एमालेको सरकारमा बसेर गृहमन्त्रीले गरेको अत्याचारमाथि चुप लागेर पनि सत्ता नछोड्ने काँग्रेस, यो हत्याको जिम्मा तिम्रो काँधमा पनि पर्छ। ‘हामीलाई थाहा भएन’ भन्दै पन्छिन मिल्दैन।”
६२/६३ को जनआन्दोलनलाई स्मरण गर्दै उनले भने, “त्यो आन्दोलनमा हामी आफ्ना भाइबहिनीले यस्तो अवस्था नदेखून् भनेर सडकमा उत्रेका थियौँ, गोली खान तयार भएका थियौँ। १५ जना सहिद भए, सयौँ घाइते भए। तर आज फेरि तिमीहरूको मौनता र सत्ता मोहले हामीलाई लज्जित बनाएको छ।”
मतदाता भएर आफू पनि दोषी ठहरिएको उल्लेख गर्दै उनले भने, “माफ गर भाइबहिनी—आज यो दिन देख्नुपर्दा लाग्छ, मैले दिएको मत पनि दोषी छ। त्यही हातमा थुक्न मन लाग्छ। हामीले आन्दोलन गरेको पीडा यसरी तिमीहरू माथीको बर्बरता लागि थिएन।”
आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै श्रेष्ठले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्