‘मितज्यु’मा जोडिए अरुण पुन

काठमाडौं — अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’ मा अभिनेता अरुण पुन मगर अनुबन्ध भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। यसअघि उनले फिल्म ‘खुश्मा’ मा अभिनय गरेका थिए।

यसअघि नै यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माता जनक घर्ती मगर हुन्। उनले यसअघि ‘घरज्वाइँ’ जस्तो हिट फिल्म निर्माण गरेका थिए। निर्देशक अनिल र निर्माता जनकको यो दोस्रो सहकार्य हो।

फिल्मको छायांकन शिशिर बिशङ्खेले गर्नेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा निर्माण हुने फिल्मको छायांकन मंसिरको दोस्रो सातादेखि रोल्पा लगायतका स्थानमा हुने बताइएको छ।

आगामी चैत २७ गते प्रदर्शनमा आउन लागेको फिल्मलाई आर आर फिल्म्सले वितरण गर्नेछ। फिल्मको निर्माण व्यवस्थापक धन बहादुर राई हुन्।

Share Post on Social media