दर्शकको मागसँगै नाटक ‘कर्तव्य’को नियमित शो

काठमाडौं — कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘कर्तव्य’मा आधारित नाटक अब नियमित रूपमा मञ्चन हुने भएको छ। राजधानीको रातोपुलस्थित मोनस्टर फिल्म एण्ड ओजस थिएटर (शैली थिएटर) मा भाद्र २१ गते शनिबारदेखि ३१ गतेसम्म प्रत्येक दिन (बिहीबार बाहेक) साँझ ५:३० बजे नाटक मञ्चन गरिनेछ।

करिब १ घण्टा १५ मिनेट लामो यो नाटक हेर्नका लागि टिकट दर रु. ३०० र ५०० तोकिएको छ। विशेष अफरअन्तर्गत दाजुभाइ वा दिदीबहिनी मिलेर नाटक हेर्न आउँदा एउटै टिकटमै दुबैजनाले प्रवेश पाउने व्यवस्था गरिएको छ। तर, दुबैजनाले आफ्नै नागरिकताको फोटो साथमा ल्याउनुपर्नेछ।

नाटकले सुदूरपश्चिमको सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर दाजुभाइबीचको भावनात्मक कथा प्रस्तुत गर्नेछ। भेषभूषा, गीत–संगीत, रीतिरिवाजदेखि बोलीचालीसम्म सुदूरकै शैलीमा उतारिएको यस नाटकलाई विद्यालयमा पाठ्यपुस्तकमा पढिएको ‘कर्तव्य’सँग प्रत्यक्ष जोड्ने प्रयास गरिएको छ।

कथा तथा निर्माण टोली

कथा : गुरु प्रसाद मैनाली

नाट्य रूपान्तरण : पुरु लम्साल

व्यवस्थापक : सागर कार्की

निर्देशक : पुष्पराज अवस्थी

कलाकार

रुविन सुनार, प्रदीप विश्वकर्मा, अन्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं, सविता तामाङ, सन्तोष ढकाल, अर्जुनहाङ राई, तुलसी राई, मुकेश विश्वकर्मा, अनिश बोगटी, उत्सव कार्की, धिरेन कार्की, रश्मी गुरुङ र हिमा जिसी लगायतका कलाकारहरूको अभिनय हेर्न सकिनेछ।

नाटक मञ्चन व्यवस्थापनमा उज्वल साइपोम राई र सागर कार्की खटिएका छन् भने प्रकाश, संगीत र भेषभूषामा पनि युवा रंगकर्मीहरूको सक्रियता देखिएको छ।

Share Post on Social media