कृषाको जन्मदिनमा नयाँ फिल्म ‘पारस’ निर्माण घोषणा, पुरुषोत्तम प्रधान डिओपी
काठमाडौं । निर्देशक कृषा चौलागाइँको जन्मदिनको अवसर पारेर नयाँ फिल्म ‘पारस’को निर्माण घोषणा गरिएको छ। बुधबार कालोपुल नजिक एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा फिल्मको घोषणा गरिएको हो।



फिल्मको कथा तथा निर्देशन कृषाकै रहनेछ भने लगानी उनका भाई बिशाल चौलागाइँको हुनेछ। सचिन लदियाले फिल्म लेखेका छन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन (डिओपी) ख्यातिप्राप्त सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचोपैचो’ र ‘पिताम्बर’मा सहकार्य गरिसकेका छन्।
केपी फिल्मस्का ब्यानरमा बन्ने फिल्म फागुनबाट छायांकनमा जाने तयारी छ। निर्देशक कृषाले यो फिल्म एक्सन र लभस्टोरी जनरामा निर्माण हुने जानकारी दिइन्। “नेपालमै आएर सचिन लदियाले लेखन सुरु गर्नुभएको हो, अहिले यत्ति मात्र भन्न मिल्छ, बाँकी पछि भेट्ने बहाना नै हुन्छ,” कृषाले भनिन्।
निर्माता बिशाल चौलागाइँले दिदीको जन्मदिन पारेर फिल्म निर्माण गर्ने योजना बनाएको बताउँदै ‘पिताम्बर’मा भएका कमजोरीलाई ‘पारस’मा सुधारिने जानकारी दिए।
फिल्मको कलाकार तथा अन्य प्राविधिक टोलीबारे भने पछि घोषणा गरिने निर्देशक कृषाले बताएकी छन्। कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथि रहेका थिए। उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामना दिँदै नयाँ फिल्मका लागि बधाई दिएका थिए।
कृषाको पहिलो निर्देशकिय फिल्म ‘ऐचोपैचो’ समिक्षात्मक हिसाबले सफल मानिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस्