एकता पौडेलको डेब्यु निर्देशन ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । डेब्यु निर्देशक एकता पौडेलको पारिवारिक ड्रामा चलचित्र ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बिहान फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो।

सार्वजनिक दुवै पोस्टरमा प्रमुख कलाकारहरूलाई प्रस्तुत गरिएको छ। पहिलो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ललाई खुसी भावमा देखाइएको छ भने, सन्तोष पन्त भने केही असन्तुष्ट मुद्रामा छड्के नजरले हेरिरहेको देखिन्छ। यस पोस्टरमा खगेन्द्र र वर्षा आफ्नो छोरासँग रमाइरहेको दृश्यमा देखिन्छन्, जसको भूमिका बाल कलाकार साइमन वादीले निभाएका छन्।
दोश्रो पोस्टरमा पनि खगेन्द्र–वर्षालाई मीठो मुस्कानसहित देखाइएको छ भने नेपथ्यमा सम्भवतः गीतको दृश्य प्रस्तुत गरिएको छ। यसमा सन्तोष पन्तसँगै विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जनलाई नाचगानमा रमाइरहेको देख्न सकिन्छ। सोही पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा प्रस्तुत गरिएको छ भने वरिष्ठ अभिनेता नीर शाहलाई गम्भीर मुद्रामा देखाइएको छ।
यी दुवै पोस्टरबाट फिल्मले पारिवारिक जीवनका उतारचढावलाई कथानकको मूल आधार बनाएको बुझ्न सकिन्छ। यसरी लामो समयपछि नेपाली दर्शकले पारिवारिक ड्रामा हेर्न पाउने अपेक्षा गरिएको छ।
निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा, निर्देशक शिव रेग्मी (जो पारिवारिक चलचित्रका लागि परिचित थिए) को विरासतलाई आफ्नो डेब्यु निर्देशनमा निरन्तरता दिन खोजेको बताएकी छन्। यसअघि उनले टाइटल भिडियो समेत मामालाई समर्पण गर्दै सार्वजनिक गरेकी थिइन्।
न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्ममेकिङ अध्ययन गरेकी पौडेलले आमसञ्चारमा स्नातक र व्यवस्थापन/नेतृत्वमा स्नातकोत्तर गरेकी छन्। उनले यसअघि केही छोटा फिल्महरु निर्माण गरिसकेकी छन्। चितवनमै सम्पूर्ण छायांकन गरिएको ‘हर्ष’ हाल पोस्ट–प्रोडक्सनको चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।
चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। फिल्ममा आलोक शुक्ला (छायांकन), समीर/हिमाल, वसन्त सापकोटा र एलिश कार्की (संगीत), लोकेश बज्राचार्य (सम्पादन) र सुनिल क्षेत्री तथा निर्देशक पौडेल (कोरियोग्राफी) रहेका छन्।
निर्माता प्रशन्न पौडेल र विकास पौडेल रहेका छन् भने कार्यकारी निर्माता हिक्मत चोखल हुन्। फिल्ममा स्व. शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे र नीरकमल खड्काका शब्द समावेश छन्। प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप अधिकारी रहेका छन्।
फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार बुढासुब्बा डिजिटलले खरिद गरिसकेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्