अनमोल केसीको फिल्म ‘जेरी अन टप’ टिजर सार्वजनिक

काठमाडौं । असोज ३१ गतेदेखि प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’ को टिजर सोमबार राजधानीमा सार्वजनिक गरिएको छ। निर्माण ब्यानर अनन्या फिल्मस् ले आयोजना गरेको कार्यक्रममा फिल्मका प्रमुख कलाकार अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङसँगै हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी मिडियाको केन्द्रमा रहेका थिए।

निर्देशक सुयोग गुरुङले टिजरमार्फत सम्पूर्ण टिमको अथक परिश्रमलाई दर्शक सामु ल्याउन लागेको उल्लेख गर्दै साथको अपेक्षा व्यक्त गरे।

१ मिनेट ५२ सेकेन्ड लामो टिजरले सगरमाथा आरोहण र यात्राको क्रममा प्रेमकथामा आधारित फिल्मको कथा–वस्तु खुलाउने प्रयास गरेको देखिन्छ।

सरोज न्यौपानेको प्रस्तुतिमा बनेको यस फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी सहनिर्माता छन्। कथा हेमराज बिसीको हो भने पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। दुलिप रेग्मीले छायांकन गरेका छन्।

कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् भने नविन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्मातामा छन्। संगीतमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको योगदान छ।

फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (अष्ट्रेलियाबाहेक) हङकङको एलजी एसोसिएट्स ले खरिद गरेको छ। नेपालमा भने वितरण अधिकार रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले लिएका छन्।

महंगो लागतमा बनेको ‘जेरी अन टप’ लाई वर्ष २०८२ को प्रतिक्षित फिल्मका रूपमा हेरिएको छ।

📸 तस्वीर: सुरेन्द्र थापा

Share Post on Social media