चलचित्र ‘माग्ने राजा’को हाउसफुल शो दर्शकको मन जित्यो

निर्माण घोषणादेखि नै चर्चा बटुलेको नेपाली चलचित्र ‘माग्ने राजा’ले अपेक्षाअनुरूप हलमा दर्शक पाएको छ। शुक्रबार बिहानको शोमा औसत दर्शक भए पनि मध्यान्नतिर चलचित्रले हाउसफुल दर्शक पाएको थियो। शनिबार बिहानदेखि नै हाउसफुल व्यापार निरन्तर कायम रह्यो।

चलचित्रको निर्देशक ऋषि लामिछाने मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीसहित काठमाडौंका विभिन्न हलमा पुगेका छन् र दर्शकसँग साक्षात्कार गरिरहेका छन्। दर्शकहरूले चलचित्रले प्रस्तुत गरेको सन्देश मन परेको प्रतिक्रिया दिएका छन्।

चलचित्रका मुख्य अभिनेता केदार घिमिरेलाई दर्शकले ‘माग्ने राजा’ भन्दै नारा लगाउँदै स्वागत गरेका छन्। उनले भने, “दर्शकको यो उत्साहले मलाई अझ राम्रो काम गर्ने प्रेरणा दियो। आगामी दिनमा अझ उत्कृष्ट चलचित्र बनाउने चुनौती थपिएको छ।”

चलचित्रका वितरक रोहितकुमार कट्टेलका अनुसार, ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि राम्रो प्रारम्भिक दर्शक पाएको हो। उनले भने, “सिर्फ प्रमुख हलमा मात्र नभई चाडबाडमा हाउसफुल हुने हलमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ। तीजको बिदा बाँकी भएकाले आगामी दिनमा अझ आकर्षक कमाइ हुने अपेक्षा छ।”

निर्देशक ऋषि लामिछानेले पनि तीजपछि चलचित्रमा महिला दर्शकको उपस्थिति बढ्ने विश्वास व्यक्त गरे। उनले भने, “परिवारसहित हलमा आउन मिल्ने चलचित्र भएकाले तीजपछि पारिवारिक दर्शक अझ बढ्ने विश्वास छ।”

चलचित्रमा मनोरञ्जन र सन्देशको सन्तुलन उत्कृष्ट रहेको दर्शकको प्रतिक्रिया रहेको छ। छक्का पञ्जा सिरिजपछि पहिलो पटक सोलो अभिनय गर्ने केदार घिमिरेको कमेडीले दर्शकको मन जितेको छ। चलचित्रमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शारदा गिरी र शिशिर वाङदेलले पनि मुख्य अभिनेता केदारको यात्रा सँगै मज्जाले प्रस्तुत गरेका छन्।

Share Post on Social media