मिस नेपाल २००० उषा खड्गी, राजनीतिक व्यङ्ग्यात्मक भाउजूको भूमिकामा

काठमाडौं । चलचित्र ‘माग्ने राजा’ मा पूर्व मिस नेपाल २००० उषा खड्गी विशेष भूमिकामा देखिएकी छन्। सानो भूमिकामै भए पनि उनले प्रभावकारी अभिनय प्रस्तुत गरेकी छन्।

सिनेमामा उनी व्यङ्यात्मक शैलीमा प्रस्तुत गरिएको राजनीतिको “भाउजू” पात्रमा देखिएकी छन्। उनको यो चरित्र राजनीतिको किङ्ग मेकरको रुपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।

यसअघि उषा खड्गीले अभिनेता सरोज खनालसँगै ‘नरसिंहा अवतार’ मा अभिनय गरेकी थिइन्। त्यहाँ उनले सरोज खनालको श्रीमती र नायिका सनिशा भट्टराईकी आमा बनेर पर्दामा देखिएकी थिइन्। सो चलचित्रलाई महानायक राजेश हमालको कमब्याक फिल्मको रुपमा पनि चिनिन्छ।

लामो समय सौन्दर्य प्रतियोगिता, समाजसेवा र विभिन्न सार्वजनिक गतिविधिमा सक्रिय रहेकी उषा हाल फेरि पर्दामार्फत दर्शकमाझ फर्किएकी छन्।

निर्देशक ऋषि लमिछानेले निर्देशित ‘माग्ने राजा’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ। चलचित्रमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा शिवाकोटी, विल्सन विक्रम राई,शिशिर वाङ्ग्देल, शारदा गिरी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

Share Post on Social media