‘काजी’को शुभमुहूर्त, लक्ष्मण रिजाल फर्किए निर्देशनमा

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘काजी’को शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको छ । शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ ।

निर्देशक रिजालका अनुसार फिल्मको छायांकन आगामी भदौ ८ गते आइतबारदेखि औपचारिक रूपमा सुरु हुने छ । करिब आठ वर्षपछि निर्देशनमा फर्किएका उनले “आफ्नो खोजी अनुरूपको स्क्रिप्ट पाएपछि पुनः निर्देशनमा कमब्याक गर्न तयार भएको” बताएका छन्।

यसअघि उनले ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ निर्देशन गरिसकेका छन् भने ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माणमा संलग्न रहेका थिए।

आरएण्डआर प्रोडक्सनको ब्यानरमा बन्ने यस सोसल लभस्टोरी फिल्मलाई राम प्रसाद रिजालले निर्माण गर्दैछन् । उनले यसअघि बनेका आफ्ना फिल्मका कमजोरीलाई सच्याउँदै ‘काजी’लाई उत्कृष्ट बनाउन लाखौँ खर्च गरेर स्याङ्जामा नै गाउँको सेट तयार गरिएको जानकारी दिए।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मालगायत कलाकारको अभिनय रहने छ भने अन्य कलाकारबारे चरणबद्ध रूपमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

प्रदीप भारद्धाजको लेखनमा तयार हुने फिल्मलाई चिन्तनराज भण्डारीले खिच्नेछन् । गीत–संगीत कालिप्रसाद बास्कोटाले तयार पार्दैछन् । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने छ।

Share Post on Social media