संस्कारको आडमा संस्कृतिविरोधी अभ्यास ?

वर्तमान समयमा तीव्र आधुनिकताको नाममा हाम्रो समाजका अमूल्य सम्पदा, धर्म, संस्कार, रीतिरिवाज, मूल्य मान्यता र परम्परागत सभ्यता बिस्तारै विस्मृत हुँदै गएको देखिन्छ । यसै सन्दर्भमा महिलाहरूको महान् पर्व हरितालिका तीज बारे चर्चा गर्नु आवश्यक छ।

तीज केवल धार्मिक व्रत मात्र नभई नारीहरूको आस्था, श्रद्धा, भक्ति र आत्मबलको प्रतीक हो । तीजको अघिल्लो दिनलाई दर खाने दिन भनिन्छ, जहाँ दिदीबहिनीबीच भेटघाट, आत्मीयता र स्नेह आदानप्रदान हुन्छ । पौष्टिक र गह्रौँ भोजन ग्रहण गरेर व्रत बस्ने तयारी गर्ने परम्परा नै यसको मौलिक स्वरूप हो।

तर पछिल्लो समय यो संस्कार आफ्नो मौलिक स्वरूपबाट भड्किँदै गएको छ । दर खाने नाममा महिनौँअगाडि नै पार्टी गर्ने, शुद्ध सात्त्विक भोजनको सट्टा मांसाहार र अशुद्ध पदार्थ सेवन गर्ने, यहाँसम्म कि दारुजस्ता अनुचित अभ्यासलाई पनि “संस्कार”को नाममा जोड्ने विकृति मौलाउँदै गएको छ।

धर्म र संस्कारको आडमा संस्कृतिविरोधी यस्ता प्रचलन स्थापित हुनु दुःखद मात्र होइन, समाज र संस्कृतिप्रति अपमान पनि हो। दरलाई भक्ति, शुद्धता र संस्कारको प्रतीकको रूपमा मनाउनुपर्नेमा, मनोरञ्जन र उच्छृङ्खलतामा बदल्नु संस्कृतिको अवमूल्यन हो।

हामीले बिर्सनु हुँदैन—रीतिरिवाज र संस्कारहरू केवल बुढापाकाको कथा होइनन्; ती हाम्रो अस्मिता, परिचय र गौरव हुन्। यदि यी परम्परा मासिए भने हामी अनुकरण मात्र गर्ने, जरा विहीन समाज बन्न पुग्छौं। त्यसैले विकृति हटाउने, मौलिकता जोगाउने र संस्कृतिलाई भावी पुस्तामा सुम्पने जिम्मेवारी हामी सबैको हो।

अन्ततः, हरितालिका तीजलाई नारीहरूको श्रद्धा र संस्कारको प्रतीक मात्र नभई हाम्रो सांस्कृतिक गौरवको रूपमा संरक्षण गरौँ। दरलाई दरमै सीमित राखौँ, दारुमा होइन। अशुद्ध आचरणको बहिष्कार गर्दै, दिदीबहिनीबीचको स्नेह र धार्मिक भावनालाई नै मुख्य ध्येय बनाऔँ।

समाजमा जागरण ल्याउँदै, विकृतिलाई सच्याउँदै, तीजलाई यसको मौलिक स्वरूपमै जोगाउन हामी सबै एकजुट हुनैपर्छ। आजको हाम्रो सानो प्रयास भोलिको ठुलो इतिहास बन्न सक्छ।

Share Post on Social media