‘कोशेढुङ्गा’ ट्रेलर सार्वजनिक : सुरक्षाको दमदार उपस्थिति

काठमाडौं – चर्चित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पछि निर्देशक सरोज पौडेलले नयाँ प्रस्तुति ल्याएका छन्। उनी निर्देशित नवीनतम फिल्म ‘कोशेढुङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ।

भदौ १२ गतेदेखि रिलिज हुने फिल्मको झलकसहितको ३ मिनेट ४४ सेकेन्ड लामो ट्रेलर मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

ट्रेलरको मुख्य आकर्षण अभिनेत्री सुरक्षा पन्त बनेकी छन्। सुरुदेखि अन्त्यसम्म उनी केन्द्रमा देखिन्छिन्— कहिले खुसी र चुलबुले भूमिकामा, त कहिले गम्भीर र संघर्षशील पात्रको रुपमा।

फिल्मले पारिवारिक सम्बन्ध, आर्थिक चुनौती, समाजको दृष्टिकोण र दाम्पत्य जीवनका उतारचढावलाई चित्रण गर्ने संकेत ट्रेलरमै देखिन्छ। “नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली” बोलको चर्चित गीत समावेश गरिएको छ, जसले ट्रेलरलाई अझै प्रभावशाली बनाएको छ।

यसमा सुरक्षा पन्तसँगै आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, मन्जिल कुमार,स्नेहा जोशि लगायतका कलाकारको अभिनय देख्न पाइन्छ।

फिल्मको कथा निर्देशक पौडेलकै हो भने लेखनमा सुनिल निउरे र सुबलमणि सापकोटाले सहयोग गरेका छन्।
नरदेवी फिल्म्स र सारङ्गी फिल्म्सको संयुक्त निर्माणमा तयार भएको ‘कोशेढुङ्गा’ का निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन्। कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्।

छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, र संगीत निर्देशन आशिष अविरल र रिदम कँडेल को रहेको छ।
फिल्म नेपालसँगै ४२ भन्दा बढी मुलुकमा एकैसाथ प्रदर्शनमा आउने तयारीमा छ।

Share Post on Social media