‘जारी २’ सहकार्यमा झुमा लिम्बुको ‘रैथाने घुमफिर कन्सर्ट २०८२’

काठमाडौँ। गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएकी छन् । आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र ‘जारी २’ सहकार्यमा आयोजना हुने यो कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ ।

कार्यक्रममा ‘जारी २’ टिमले विशेष च्याब्रुङ नाच प्रस्तुत गर्ने तयारीसमेत रहेको छ । झुमाले आफ्नो व्याण्डसहित नेपालका विभिन्न १० शहरमा शोलो प्रस्तुति दिनेछिन् ।
गायिका लिम्बुले प्रत्येक कन्सर्टमा स्थानीय कला, संस्कृति र गीत–संगीतलाई प्राथमिकतामा राखिने जानकारी दिएकी छन् । उनले भनिन्, “लोकसंगीत केवल मनोरञ्जन मात्र नभई नेपालको मौलिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिबिम्ब हो । यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तासम्म पुर्याउने हाम्रो उद्देश्य हो।”
यस सांगीतिक यात्रामा हाक्पारे, पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायतका लोकनृत्य र संगीतलाई केन्द्रमा राखेर प्रस्तुति गरिनेछ । साथै, प्रत्येक स्थलमा स्थानीय कलाकार र वाद्यवादनलाई समेट्दै सांस्कृतिक विविधताको सम्मान गर्ने तयारी गरिएको छ ।
यो वर्ष नेपालमै सीमित रहने ‘रैथाने घुमफिर’लाई अर्को वर्ष विदेशमा समेत विस्तार गर्ने योजना रहेको झुमा लिम्बुले बताएकी छन् ।
कार्यक्रमका अन्य विवरण चरणबद्ध रूपमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्