निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’ भारतमा छायांकन आरम्भ गर्न पश्चिम बंगाल प्रस्थान

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो बहुप्रत्याशित ड्रिम प्रोजेक्ट ‘आचार्य’को पहिलो चरणको छायांकनका लागि मंगलवार भारत प्रस्थान गरेका छन् । काठमाडौंबाट पश्चिम बंगालतर्फ प्रस्थान गरेको फिल्म टिममा निखिलसँगै निर्मात्री तथा अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापति, छायाँकार मनु बिके र कलाकारसमेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी समावेश छन्।

निर्माण टिमका अनुसार भदौ ६ गते (अगस्ट २२) शुक्रबारदेखि फिल्मको छायांकन भारतको प्रसिद्ध प्राकृतिक सुन्दरता बोकेको ‘डुअर्स’ क्षेत्रबाट सुरु हुने भएको छ।

निखिलले जानकारी दिएका अनुसार पहिलो चरणमा डुअर्स, बाग्डोरा, सिलिगुढी र ठाकुरगञ्ज आसपासका स्थानमा छायांकन हुनेछ। दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड समेटिनेछ भने तेस्रो चरणको छायांकन नेपालमा गरिनेछ। “६० दिनभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखिएको छ,” निखिलले बताए।

फिल्ममा निखिल उप्रेती स्वयं मुख्य भूमिकामा देखिँदैछन्। अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया ,विशाल पहारी,सयनम अधिकारी,अञ्जन थापा रहेका छन्। साथै बलिउड र दक्षिण भारतीय चलचित्रमा काम गरिसकेका केही चर्चित कलाकारहरू पनि फिल्ममा अभिनय गर्ने चर्चा छ। यसबारेमा प्रतिक्रिया दिँदै निखिलले “केही सरप्राइजहरू बाँकी छन्, समयअनुसार सबै कुरा सार्वजनिक हुँदै जानेछ,” भनेका छन्।

‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्मका रूपमा निर्माण गरिने निखिलको भनाइ छ। विशेष आकर्षणका रूपमा अभिनेत्री सञ्चिता लुइँटेलले यस चलचित्रबाट कोरियोग्राफीमा डेब्यु गर्नेछिन्। नेपाली र हिन्दी भर्सनमा तयार हुने एक गीतमा उनले कोरियोग्राफी गर्ने तय गरिएको छ।

२०१५ मा रिलिज भएको ‘भैरव’बाट निर्देशकीय यात्रा सुरु गरेका निखिलको यो दोस्रो निर्देशन हो। नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको रूपमा ख्यातिप्राप्त निखिल ‘आचार्य’मार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

Share Post on Social media