नायिका निरुता सिंह ‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आइपुगिन्

काठमाडौं – निर्देशक सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन्। मुम्बईबाट आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेकी सिंहले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफू अत्यन्त उत्साहित रहेको बताइन्।

उनले भनिन्, “अब म कहीँ पनि जान्नँ, म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बीचमा कोरोना भयो, त्यसकारण फिल्ममा काम गर्न पाइएन। अब भने म नेपाली फिल्म भन्दा टाढा बस्न सक्दिन।”
सिंहले केही फिल्मबाट अफर आए तापनि विभिन्न कारणले काम गर्न नपाएको उल्लेख गर्दै यसपटक भने सबै कुरा मिलेरै ‘३६ को आँकडा’ साइन गरेको जानकारी दिइन्। यस फिल्ममा आफूले कुन भूमिका निर्वाह गर्ने भन्ने विषय भने हाल सार्वजनिक गरिएको छैन।
निर्देशक सविर श्रेष्ठले निरुतालाई फिल्ममा लिनुको कारणबारे बताउँदै भने, “सहायक निर्देशक हुँदा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ। तर निर्देशक भएर काम गर्ने मौका पाएको थिइनँ। यो फिल्ममा विशेष कुनै कलाकारको मात्र आवश्यकता परेको थियो, त्यसैले उहाँलाई आग्रह गरेका हौं।”
‘३६ को आँकडा’मा निरुता सिंहसहित रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ। विशेष कुरा के छ भने नायिका रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’पछि पहिलो पटक एकसाथ पर्दा शेयर गर्दैछन्।
नायिका सिंहले फिल्म ‘दाल भात तरकारी’पछि कुनै नयाँ फिल्ममा काम गरेकी थिइनन्। अब भने उनी आजदेखि छायाँकन सुरु हुन लागेको ‘३६ को आँकडा’ बाट पुनः फिल्म क्षेत्रमा सक्रिय हुने तयारीमा छिन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्