उषा खड्गी : “सरल भूमिका भए पनि उत्कृष्ट टिमसँग काम गर्न पाउँदा थप उत्साह मिलेको छ”
काठमाडौं – मिस नेपाल २००० र चर्चित अभिनेत्री उषा खड्गी पछिल्ला दिनमा फिल्म क्षेत्रमा पुनः सक्रिय देखिन थालेकी छन्। बुटिक व्यवसाय र टेलिभिजन कार्यक्रम सञ्चालनसँगै अभिनय यात्रा अघि बढाइरहेकी उषाले अहिले आफूलाई फिल्ममै केन्द्रित गर्न पाइएकोमा खुसी व्यक्त गरेकी छन्।
उनले दिवाकर भट्टराई निर्देशित फिल्म ‘नरसिंहा अवतार’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन्, जहाँ उनको कला र प्रस्तुतिलाई दर्शकले राम्रो साथ दिएका थिए। उक्त फिल्मपछि अब उनी अभिनित दोस्रो फिल्म ‘माग्ने राजा’ यही भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।
अदृश्य संचारको संचालक / नेपाली चलचित्र प्रचार प्रसारमा सामाजिक संजाल मार्फत चिनिएका अमीर के.सी संग उषा खड्गीले ‘माग्ने राजा’ मा आफ्नो भूमिका लामो नभएपनि प्रभावकारी रहेको भन्दै, “राम्रो ब्यानर, अनुभवी निर्देशक र सशक्त कलाकारहरूसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छु,” भनाइ राखेकी छन्।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक गरिएको पोस्टरमार्फत उनको आकर्षक लुकले चर्चा पाएको छ। सारीमा खिचिएको तस्बिरले फिल्मप्रति दर्शकको जिज्ञासा बढाएको छ।
फिल्मप्रति भरोसा व्यक्त गर्दै उषा भन्छिन्, “संक्षिप्त भूमिका भए पनि फिल्ममा आफ्नो उपस्थितिले दर्शकको ध्यान खिच्नेछ भन्ने आशा छ।” आगामी असोज ३१ गते उनलाई अर्को फिल्म ‘जेरी अन टप’ मार्फत पुनः पर्दामा हेर्न पाइनेछ।
ऋषि लामिछानेको निर्देशनमा बनेको ‘माग्ने राजा’ टोलीलाई यसै अवसरमार्फत सफल प्रदर्शनको शुभकामना।

आफ्नो प्रतिक्रिया दिनुहोस्