‘राम नाम सत्य’को शुभमुहुर्त, चैत्र २७ गतेबाट प्रदर्शन

काठमाडौं – माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’ को शुभमुहुर्त ललितपुरको बंगलामुखी मन्दिरमा सम्पन्न भएको छ। मंगलबार बिहान क्यामेरा पूजा गर्दै फिल्मको आधिकारिक घोषणा गरिएको हो।

निर्देशक माइकल चन्दको निर्देशनमा बन्ने यस फिल्मको छायांकन केही दिनमै काठमाडौंमा सुरु हुनेछ भने चितवनमा पनि खिचाइ गरिनेछ। निर्माणपक्षले चैत्र २७ गते नयाँ वर्षको छेको पारेर फिल्म प्रदर्शन गर्ने घोषणा गरेको छ।

शुभमुहुर्तकै अवसरमा नायक विराज भट्टको एङ्ग्री लुक सार्वजनिक गरिएको छ, जसमा उनको एक्सन छवि स्पष्ट देखिन्छ। ‘१२ गाउँ’ पछि ‘राम नाम सत्य’ मा अभिनय गर्न लागेका भट्टले कथावस्तु निकै पावरफूल रहेको बताए।

फिल्ममा विराज भट्टसँगै सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको प्रमुख भूमिका रहनेछ। उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार हुँदै गरेको यस फिल्ममा किशोर भट्ट र डा. डी आर उपाध्याय कार्यकारी निर्माता छन्।

माइकल चन्दकै कथा तथा पटकथामा तयार हुने ‘राम नाम सत्य’ मा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ।

निर्देशक चन्दले यो फिल्म आफ्नो “सपनाको प्रोजेक्ट” भएको बताउँदै शुभकामना र साथको अपेक्षा राखेका छन्। त्यस्तै, नायक सुशिल श्रेष्ठले पनि कथावस्तु उत्कृष्ट भएको उल्लेख गर्दै दर्शकको माया र समर्थनको आशा व्यक्त गरे।

‘राम नाम सत्य’ चैत्र २७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।

Share Post on Social media