भदौ २० गते रिलिज हुने ‘रिमै’को विश्व आदिवासी दिवसमा विशेष सहभागिता
काठमाडौं – आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने नेपाली सिनेमा ‘रिमै’को प्रचार–प्रसारमा निर्माण टिम सक्रिय रूपमा जुटिरहेको छ। गत शनिबार काठमाडौंमा सम्पन्न ३१ औं विश्व आदिवासी दिवसको अवसरमा राजधानीका विभिन्न स्थानमा आयोजित र्यालीमा ‘रिमै’ टिमको उल्लेखनीय सहभागिता देखियो।


आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न संघ–संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता थियो। रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्यालीमा ‘रिमै’ टिमले आफ्नो उपस्थिति विशेष बनाएको थियो। कलाकार, निर्माता तथा निर्देशकलगायत सम्पूर्ण टिम आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्नाको सन्देशसहित उपस्थित थिए।
सिनेमाका निर्देशक खिल बहादुर गुरुङले ‘रिमै’मार्फत आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसमक्ष पुर्याउने प्रतिबद्धता जनाए। सहभागी कलाकार तथा निर्माण टिमका सदस्यहरूले अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि विश्व आदिवासी दिवसलाई संघर्षको प्रतीकका रूपमा लिएको बताए।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रा.लि.को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको ‘रिमै’मा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगरको अभिनय छ। उपेन्द्र सुब्बाले लेखेको कथालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन्।
निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले रहेका यस सिनेमामा वीरबल घले कार्यकारी निर्माता हुन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता हुन्। दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन तथा किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्