फिल्म ‘मैझारो’ साउनमै इलाममा छायांकन सुरु, प्रेम र पहाडको सौन्दर्यमा आधारित नयाँ नेपाली कथा

काठमाडौं — साउनको पहिलो हप्तादेखि इलाममा छायांकन सुरु गरिएको नेपाली फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भइरहेको यो फिल्मले पूर्वी पहाडका प्राकृतिक दृश्य र मानवीय सम्बन्धको आत्मीयतालाई दर्शाउन खोजेको छ।

फिल्मको मुख्य छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ र पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईले यस फिल्मबाट दर्शकलाई फरक स्वाद र अनुभूति दिन सकिने बताउनु भयो। फिल्मको कथा र पटकथा पनि उहाँले नै तयार पार्नुभएको छ।

माैलिक प्रेम कथामा आधारित ‘मैझारो’मा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ लगायत थुप्रै कलाकारले अभिनय गरेका छन्। ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतका स्वर समावेश छन्।

सौरभ लामाले छायांकन गरेको ‘मैझारो’को वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। चलचित्रको रिलिजको मिति चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

Share Post on Social media