‘सिटामोल’ले पहिलो दिनमै दर्शकको मन जित्यो, मर्मस्पर्शी कथाले रुवायो
काठमाडौं – साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली सिनेमा ‘सिटामोल’ले प्रदर्शनको शुरुवाती दिनमै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। शुक्रबार सुखद् सुरुवात गरेको यस सिनेमाले शनिबार परेको जैपूर्णिमाको दिन पनि देशभर दर्शकको राम्रै साथ पाएको देखिन्छ।


दर्शकको उत्साह देखेपछि सिनेमाको निर्माण टिमले अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाललगायतका कलाकारलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर प्रत्यक्ष दर्शकसँग भेटघाट र साक्षात्कार गरेको थियो। हलबाट निस्केका अधिकांश दर्शकले ‘सिटामोल’को कथावस्तुले आफूहरूको मन जित्नुका साथै अन्त्यमा आँसु झार्ने खालको मर्मस्पर्शी प्रभाव पारेको प्रतिक्रिया दिएका छन्।
शुक्रबार नै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरिया, उपाध्यक्ष अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशीलगायतको टोलीले पनि ‘सिटामोल’ हेरेका थिए। उनीहरूले ६२/६३ सालतिरको सशस्त्र जनयुद्धका घाइते योद्धा र कर्णाली प्रदेशका जनताले त्यतिबेला मात्र नभई अहिले पनि सिटामोल जस्तो साधारण औषधी पाउन नसक्ने अवस्थालाई संवेदनशील ढंगले सिनेमाले देखाएको बताए। यसले राज्यलाई कर्णालीको अवस्थाप्रति ध्यान दिन सन्देश दिएको भन्दै सम्पूर्ण नेपालीले हेर्नुपर्ने सिनेमा भएको टिप्पणी उनीहरूको थियो।
‘सिटामोल’ले एक पूर्व माओवादी कमाण्डरलाई केन्द्रमा राखेर कथा भन्छ। जनयुद्धसँग सम्बन्धित विषय भएकाले धेरै दर्शकले आफूलाई रिलेट गर्न पाएको र धेरै दृश्यमा भावुक भएको बताएका छन्।
दर्शकको प्रतिक्रिया सुनेपछि अभिनेता सौगात मल्लले भने, “दर्शक भेट्न हिँड्नु परेकाले मैले आफैं पुरै सिनेमा हेर्न पाएको छैन। तर सबैको प्रतिक्रिया सुनेर खुसी लागेको छ। दर्शकले मन पराइदिनु भयो भने हाम्रो मिहिनेत सफल भएको हो।” उनका अनुसार हलमा युवाको उपस्थिति उल्लेख्य थियो।
सिनेमाकी मुख्य अभिनेत्री बेनिशा हमाल पनि प्रतिक्रियाबाट भावुक भएकी छन्। उनले भनिन्, “साच्चै भन्नुपर्दा म हिजो रातभरै सुतिनँ। दुईटा सिनेमा एकैपटक प्रदर्शनमा आउँदा कस्तो प्रतिक्रिया आउला भन्ने टेन्सन थियो। दुवै सिनेमाले राम्रो प्रतिक्रिया पाउँदा भावुक भएँ। विशेषगरी ‘सिटामोल’ मर्मस्पर्शी भएकाले धेरै दर्शकले रुवाएको सुन्दा आनन्द मिलेको छ।”
राज बहादुर सानेको निर्देशनमा बनेको ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्रीकृष्ण र जानुकाले यसै सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेका छन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको यस सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुतिमा बनेको ‘सिटामोल’मा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन्। अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता हुन् भने गंगाराम श्रेष्ठ सह-निर्माता हुन्।
–

आफ्नो प्रतिक्रिया दिनुहोस्