‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक, माघ १ गतेदेखि प्रदर्शन

काठमाडौं । रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’ का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यस फिल्मसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार, ‘पार्वती’ आगामी माघ १ गते प्रदर्शनमा आउनेछ।
सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिएकी छन्, जसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले बालपनको रमाइलो, सहज दृष्टिकोण र जीवनप्रतिको आशावादी भाव व्यक्त गर्छ।
फिल्मको कथा निता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना रहेका छन्।
निर्माण पक्षका अनुसार, ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव प्रस्तुत गरिनेछन्। असोजबाट छायांकन सुरु हुने फिल्ममा रहने सम्पूर्ण कलाकार तथा थप प्राविधिकबारे चाँडै जानकारी दिइने निर्देशक अधिकारीले जनाएका छन्।
उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिनेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्